काठमाडौं, जेष्ठ १६ । कोरोना सङ्क्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्केकी छन्।
यही जेठ ६ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९ गते राति कोरोना पोजेटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो।
अस्पतालमा १४ र १५ गते फेरि भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरेपछि भक्तपुरको च्यामासिंस्थित घर फर्कीएकी हुन्।
वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १ सय ६८ जनाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सिल हटाइसकिएको छ। रासस


























