जेष्ठ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी सीमा विवादका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका छन्। उनले चीन र भारतबीच देखिएको सीमा विवाद समाधानका लागि मध्यस्थता गर्न अमेरिका तयार रहेको दोहोर्याएका छन्।
उनले भनेका छन्, ‘दुवै देशलाई केही मद्दत चाहिन्छ भने म त्यसका लागि तयार छु।’
चीनसँगको सीमा विवादबारे भारतका प्रधानमनत्रीसँग आफूले कुरा गरेको ट्रम्पले बताए। ओभलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनसँगको सीमा विवादको विषयलाई लिएर भारतका प्रधानमन्त्री मोदीको मुड ठीक नरहेको टिप्पणी गरेका हुन्।
एक भारतीय पत्रकारको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले प्रधानमन्त्री मोदीसँग कुरा गरेको थिए। चीनसँग जे भइरहेको छ त्यसका लागि उहाँको मुड ठीक छैन।’
ट्रम्पले भने, ‘यो विषयमा भारत खुशी छैन र शायद चीन पनि खुशी छैन।’
गएको बुधबार ट्रम्पले ट्विटमार्फत चीन र भारतको सीमा विवाद समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका थिए। यसबारे चीनले कुनै प्रतिक्रिया जनाएको छैन भने भारतले कुटनीतिक तवरबाट समाधान खोजिने बताएको छ।


























