काठमाडौं, जेष्ठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं गणतन्त्र दिवसका अवसरमा सन्देश दिँदै अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउने बताएका छन्।
सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित रहेको उल्लेख गर्दै उनले सन्देशमा जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय तथा महान् उत्सवको दिन भएको स्मरण गरेका छन्।
उनले हाल नेपालमा कुनै पनि स्वरुपको अनिर्वाचित सत्ताको अन्त्य भई जनताले निर्वाचित गरेका प्रतिनिधिद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित रहेको संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकांक्षाहरु प्रतिविम्बित भएको जनाएका छन्।
प्रधानमन्त्रीले भनेका छन्, ‘गणतन्त्र स्थापनासँगै हामीले हासिल गरेका यी उपलब्धिहरु गौरवपूर्ण र दूरगामी महत्वका छन्। तर यिनै उपलब्धिमा मात्र आत्ममुग्ध भएर बस्न मिल्दैन।’
प्रधानमन्त्री ओलीले गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो भन्दै यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्ने बताएका छन्।
सन्देशमा उल्लेख छ, ‘गणतन्त्र शासन प्रणाली मात्रै नभइ नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि भएको र गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धिसहितको प्रणाली हो, त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन सक्दैन।’
कोरोना महामारीले आक्रान्त भएका बेला सिङ्गो मुलुक एकताबद्ध भइ जनताको सुख र समृद्धि तथा स्थिरताका लागि केन्द्रित हुन पनि सन्देशमा आह्वान गरिएको छ।


























