चीन, जेष्ठ १० । चीनमा कोरोना महामारी फैलिएको समयदेखि पहिलो पटक एक दिनमा एक पनि संक्रमित फेला परेनन्। पछिल्लो २४ घण्टामा चीनमा एक जना पनि नयाँ संक्रमित नदेखिएका हुन्।
अघिल्लो वर्षको अन्त्यमा चीनको वुहान शहरबाट कोरोना संक्रमण सुरु भएको थियो। कोरोनाको संक्रमण केही महिनामै विश्वव्यापी बनेको थियो। तर मार्चदेखि चीनमा संक्रमणको घटनामा भारी गिरावट आएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो समय चीनमा बाहिरबाट आएका व्यक्तिमा संक्रमण बढिरहेको छ। हालैका हप्तामा पूर्वोत्तर चीनको सीमावर्ती जिलिन र हेइलांन्गजियांग प्रान्त संक्रमणको केन्द्र बन्दै गएको छ।
वुहानमा पनि यो महिना केही इलाकामा संक्रमित फेला परेका थिए। वुहानमा आठ अप्रिलदेखि लकडाउन हटाइएको थियो। त्यसपछि अधिकारीहरुले चेतावनी दिएका थिए कि महामारी रोक्नका लागि लागु गरिएका उपाय हटाउन हतार गर्नु हुँदैन।


























