चितवन । चितवनमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार भरतपुर महानगरपालिका-६, केशरबागका ७४ वर्षीय पुरुष र ७२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो।
भरतपुर अस्पतालस्थित प्रयोगशालामा गरिएको दुवैको स्वाबको नमुना परीक्षणमा कोरोना पोजिटिभ पाइएको हो। योसँगै चितवनमा संक्रमितको संख्या ५ पुगेको छ। यसअघि राप्ती नगरपालिका-१, गढ्यौलीकी एक २५ वर्षीय महिला र सोही नगरपालिकाको वडा-८ का आमाछोरामा कोरोना पाइएको थियो। वेलायतबाट आएका युवा र उनकी आमा निको भएर घर फर्किसकेका छन् ।
यसबाहेक शुक्रबार देशभर थप २८ जनामा संक्रमण पुष्टि भएको छ। पूर्वी नवलपरासीका १ जना, पश्चिम नवलपरासीका ३, कपिलवस्तुका ९ र सर्लाहीका १५ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या ४ सय ८७ पुगेको छ।
बाँकेका २१ जना डिस्चार्ज हुँदै
बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ। दोस्रो पटक पनि कोरोना जाँच गर्दा नतिजा नेगेटिभ आएपछि उनीहरुलाई शुक्रबार घर पठाउने तयारी गरिएको अस्पतालका डा. विनोद डंगोलले बताए।
उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका हुन्। उनीहरुको डिस्चार्ज गरिएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ७० पुग्नेछ।


























