जेष्ठ ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको ‘कठपूतली’ बनेको अभियोग लगाएका छन्।
डब्लुएचओले भिडियो कन्फ्रेन्सिङ्ग मार्फत दुई दिने सम्मेलन गरिरहेका बेला ट्रम्पको यस्तो टिप्पणी आएको हो। ट्रम्पले डब्लुएचओले निकै खराब सुझाव दिएको आरोप पनि लगाए।
उनले भनेका छन्, ‘डब्लुएचओले हामीलाई अति खराब र डरलाग्दा सुझाव दियो। उ जहिले पनि गलत रह्यो र चीनको मात्रै पक्ष लियो।’
डब्लुएचओको ७३ औँ वार्षिक स्वास्थ्य सम्मेलनमा ट्रम्प आफै भने सहभागी भएका छैनन्। अमेरिकाको तर्फबाट स्वास्थ्य मन्त्री भिडियो मार्फत सहभागी भए।
उनले डब्लुएचओले कोरोना भाइरसको संकटको गलत व्यवस्थापन गरेको आरोप लगाए। सोही कारण धेरै व्यक्तिको ज्यान गएको अमेरिकी स्वास्थ्य मन्त्रीले आरोप लगाएका छन्।
अमेरिकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको कामका अपर्याप्त रहेको भन्दै ट्रम्प आफै आलोचनाको केन्द्रमा रहँदै आएका छन्। तर उनले लगातार डब्लुएचओ माथि आक्रमण गर्दै आएका छन्।
डब्लुएचओले चीनमाथि आवश्यक भन्दा बढी विश्वास गरेको आरोप ट्रम्पले लगाउँदै आएका छन्। चीनले कोरोना भाइरसको महामारीको सुरुवात ढाकछोप गरेको उनले आरोप लगाएका छन्।
अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्का गरिसकेको छ। यस्तै डब्लुएचओले कोरोना भाइरसको महामारी नियन्त्रणमा गरेको प्रयासका सम्बन्धमा अनुसन्धान गरिरहेको छ।
डब्लुएचओको वार्षिक बैठकको सुरुवातमा सोमबार चीनका राष्ट्रपति सी जिनपिङले चीन जहिले पनि खुला र पारदर्शी रहेको बताए। महामारीपछि कुनै पनि किसिमको अनुसन्धानका लागि तयार रहेको पनि बताए।


























