काठमाडौं, जेष्ठ ३ । आज जेठ ३ गते , तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ०५० आजकै दिन दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो। आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७ औं मदन आश्रित स्मृति दिवस मनाउँदैछ।
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष नेकपाले विभिन्न कार्यक्रम गर्दै आएको छ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो। सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो।
लकडाउनका कारण बिगत जसरी यसवर्ष औपचारिक कार्यक्रम गर्ने अवस्था नभए पनि नेकपाले उनीहरुको सम्मानमा जहाँ बाट सम्भव हुन्छ, त्यहिं बाट कार्यक्रम गर्दैछ।
मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो। तर अहिले भने वडा सदस्यदेखि राष्ट्रपतिसम्म नेकपाकै नेतृत्व हुँदा पनि यस विषयमा कुनै छानबिन भएको छैन। मदनकी श्रीमती विद्यादेवी भण्डारी हाल मुलुकको राष्ट्रपति छिन्।
त्यतिबेला पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा नेता द्वय चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए। जिप त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जिवित थिए। लामाको २०६० साल साउन ११ मा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन।
संसारमा कम्यूनिष्ट पार्टीहरु ओरालोमा रहेका बेला मदन भण्डारी तत्कालिन मालेको नेतृत्वमा आएका थिए। त्यहीबेला उनले कम्यूनिष्टहरु देशकाल परिस्थिति अनुसार चल्नुपर्छ भन्दै ‘जनताको बहुदलीय जनवाद’ नामक नयाँ सिद्धान्त प्रतिपादन गरेका थिए। यही विचारले उनलाई देश–विदेशमा समेत चिनाएको थियो।
बीबीसीले त सर्वेक्षण नै गर्यो, नेपालमा किन कम्यूनिष्ट बढिरहेका छन् भनेर। उसको निश्कर्ष थियो, नेपालमा कम्यूनिष्ट बढ्ने मुल कारण हुन्– मदन भण्डारी। कम्यूनिष्ट सकिए भनेर आनन्द मानेर बसेकाहरुबीच यिनै यावत कारणले उनी घाँडो सावित भए। आज पनि धेरैले मदनको मृत्युको कारण उनको लोकप्रियतालाई मान्दछन्।


























