चितवन, जेष्ठ १ । विश्वबाटै लोप हुँदै गएको गिद्ध संरक्षणमा चुनौती देखापरेको छ। केही वर्षअघि एकै वर्ष गिद्ध प्रजनन केन्द्रमा नौ बच्चा कोरलिएपछि उत्साहित बनेका नेपालका संरक्षणकर्मीमा क्रमशः यो सङ्ख्या शून्यमा झरेपछि चुनौती थपिएको हो।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा गिद्ध प्रजनन केन्द्र रहेको छ। आर्थिक वर्ष २०७३÷७४ मा १५ फुलबाट नौ बच्चा कोरलिएका थिए। तर, यस वर्ष १९ फुल पारेको भए पनि ती फुलबाट गिद्धले बच्चा कोरल्न सकेनन्। प्रजनन केन्द्र हेर्दै आउनुभएका डा विकल्प कार्कीका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा २१ फुलबाट छ चल्ला र आर्थिक वर्ष २०७५÷७६ मा २० फुलबाट दुईवटा बच्चा कोरलिएका थिए। क्रमशः घट्दै आएर यस वर्ष शून्य भएको हो।
प्रजनन केन्द्रमा विसं २०७१ मा पाँचवटा फुल पारेर पहिलो वर्ष एउटा बच्चा कोरलिएको भए पनि दोस्रो वर्ष सात फुल पारे पनि बच्चा कोरल्न सकेको थिएन। तेस्रो वर्ष नौ बच्चा कोरलिएका थिए।
कार्कीका अनुसार गिद्ध प्रजनन केन्द्रमा बच्चा कोरल्ने समस्या देखिएपछि अनुसन्धान थालिएको छ। माउले फुल पार्ने तर बच्चा कोरल्न नसकेपछि यसको कारणको खोजी गर्न शुरु गरिएको हो। फुल पारेको ५५ देखि ६० दिनमा बच्चा कोरल्नु पर्दछ। गिद्धले अक्टोवरको अन्तिमदेखि फ्रेबुअरीको अन्तिमसम्म फुल पार्ने गर्दछ। पहिलोपटकको फुल सफल नभएमा एकै मौसममा दोस्रोपटक समेत गिद्धले फुल पार्ने गर्दछ। यस वर्ष पाँच गिद्धले दुईपटक फुल पारेको उनले जानकारी दिए।
डा.कार्कीले फुल पार्ने तर बच्चा कोरल्न नसक्नुको कारण के हुनसक्छ भनेर विदेशी विज्ञहरुसँग समेत परामर्श गरी अनुसन्धान भइरहेको जानकारी दिए। निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले तापक्रम निकै गिरावट भएकाले बच्चा कोरल्न नसकेको हो कि भन्ने आशङ्का पैदा भएको भए पनि अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने बताए। उनले पछिल्ला वर्षहरुमा तापक्रम चार डिग्रीभन्दा तल झरेकाले समस्या उत्पन्न भएको हुनसक्ने जानकारी दिए।
यस वर्ष जाडोको मौसममा तापक्रम चार डिग्रीमा झरेको थियो। हाल प्रजनन केन्द्रमा १५ भाले, १६ पोथी रहेका छन्। हालै मात्र त्यहाँबाट प्रकृतिमा छाड्नका लागि सात बयस्क र दुई बच्चा नवलपरासीको जटायु रेष्टुरेन्टमा लगिएको छ। हालसम्म सो रेष्टुरेन्टमा केही समय राखेर ३१ वटा गिद्ध प्रकृतिमा छाडिसकिएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ। निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपालपक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा प्रजनन केन्द्र स्थापना गरी संरक्षण गर्दै आएका छन्। स्थापनाको समयमा करिब तीन वर्ष लगाएर विभिन्न ठाउँबाट ६४ गिद्ध ल्याइ प्रजनन केन्द्रमा राखिएको थियो। रासस


























