काठमाडौं, बैशाख ३१ । कोरोना संक्रमण निको हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको जानकारी दिए।
“बुटवलका २५ वर्षका पुरुष ११ दिनमा र चितवनका ६३ वर्षका २६ दिनमा कोरोना निको भएको छ,” उनले भने, “हालसम्म कोरोना निको हुनेको संख्या ३५ पुगेको छ।” उनले कोरोना संक्रमण देखिनेमा १७६ जना पुरुष र ४३ जना महिला रहेका बताए।
सबैभन्दा बढी कोरोना संक्रमण प्रदेश २ मा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालको तथ्याङ्का अनुसार सबैभन्दा बढी प्रदेश २ मा ९६ जना पुगेका छन्। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म सबैभन्दा बढी कोरोना संक्रमण देखिनेमा प्रदेश २ रहेको जानकारी दिए।
उनले भने, “प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ जना, वाग्मतीमा ९ जना, गण्डकी प्रदेशमा २ जा रहेका छन्।” प्रदेश ५ मा ७२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन्। कर्णाली प्रदेशमा एक जनामा पनि कोरोना संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा कोरोना भाइरसको ३ हजार ४९ वटा नमुना परीक्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३ सय ५७ पीसीआर र ६९२ वटा आरडीटी परीक्षण भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २१ हजार ३ सय ४० वटा नमुना परीक्षण भएका छन्। आरडीटी विधिबाट ६० हजार ३ सय १९ वटा परीक्षण भएका छन्। प्रदेश नम्बर १ मा ८ हजार ३ सय २०, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ३७ र वाग्मती प्रदेशमा ९ हजार ३६३ वटा आरडीटी परीक्षण भएको छ। यसैगरी गण्डकी प्रदेशमा ६ हजार ५२६ प्रदेश नम्बर ५ मा ७ हजार २२१, कर्णाली प्रदेशमा ७ हजार २२९ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ७२३ वटा आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए।
बुधबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ। प्रवक्ता देवकोटाका अनुसार नयाँ संक्रमण देखिनेमा बाँकेका ३६ वर्षीय पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। बाँकेका पुरुषको धुलिखेल, कपिलवस्तुको पुरुषको टेकुमा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो। यो सँगै नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ। जसमा १७६ जना पुरुष र ४३ महिला रहेका छन्।
देशभरिका विभिन्न क्वारेन्टाइनमा १४ हजार ३ सय १३ जना रहेका छन्। प्रदेश नम्बर १ मा ९ सय ५९, प्रदेश नम्बर २ मा १ हजार ५७४, वाग्मती प्रदेशमा १०१ र गण्डकी प्रदेशमा २७९ जना क्वारेन्टाइनमा रहेका छन्। यसैगरी प्रदेश नम्बर ५ मा ६ हजार ९८९, कर्णाली प्रदेशमा १ हजार ५ ६३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८४८ जना क्वारेन्टाइनमा रहेका छन्।
अहिले देशका विभिन्न अस्पलालमा २४५ जना शंकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन्। प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा ९८, वाग्मती प्रदेशमा २५ (उपत्यकामा ६ समेत गरी) र प्रदेश नम्बर ५ मा १ सय १ जना आइसोलेसनमा रहेका छन्।
बुधबार बुटवलका २५ वर्षीय पुरुष ११ औं दिन र चितवनबाट ६३ वर्षीया महिला २५ औ दिनमा डिस्चार्ज भएका छन्। यो सँगै उपचारपछि निको भएर डिस्चार्ज हुने व्यक्तिको संख्या ३५ पुगेको छ।
सरकारले स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन आग्रह गरेको छ। नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएपछि व्यक्तिगत सुरक्षामा ध्यान दिएर उपचारमा संलग्न हुन आग्रह गरेको हो।

























