मुम्बई, बैशाख २० । बलिउड अभिनेता अक्षय कुमारले महिला पात्रको भूमिका निर्वाह गरेका फिल्म लक्ष्मी बम अब आगामी इदमा रिलिज हुने भएको छ। यो फिल्मको रिलिज तयारी हुँदै थियो। कोरोना संक्रमणका कारण भारतमा ४५ दिन लकडाउन गरिएको छ। जसका कारण उनको यो फिल्म रिलिज हुन सकेन।
अभिनेता अक्षय कुमारले यो फिल्मलाई आफ्नो लागतभन्दा दोब्बर पैसामा रिलिजको लागि बिक्री गरेका छन्। आफ्नो फिल्म लकडाउनका कारण रिलिज हुन नसकेकाले घाटा सहनुपर्ने उनलाई चिन्ता थियो।
यसैबीच, उनको फिल्म लक्ष्मी बमलाई डिज्नी हटस्टार कम्पनीले प्रदर्शनका लागि किनेको हो। अक्षय कुमारको लागतभन्दा दोब्बर दिएर सो कम्पनीले सिनेमाको प्रदर्शन अधिकार किनेको हो।
हटस्टार कम्पनीले यो फिल्मलाई अब आगामी इदमा रिलिज गर्ने घोषणा गरेको छ। आफ्नो फिल्म लागतभन्दा दोब्बरमा हटस्टारले किनेपछि अभिनेता अक्षयकुमार चिन्ता मुक्त भएका छन्। यो फिल्मको नेटफ्लिक्स रिलिज अधिकार पनि हटस्टारले खरिद गरेको छ। सिनेमा बिक्री भएपछि आफूलाई अर्को फिल्म निर्माण गर्ने प्रोत्साहन मिलेको अभिनेता अक्षय कुमारले बताएका छन्।


























