बैशाख १७ । अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिसा (डिभी) को परिणाम कोरोना भाइरस (कोभिड-१९) का कारण प्रभावित भएको छ। पूर्व घोषित मितिअनुसार डिभी प्रारम्भिक परिणाम मे ५ (वैशाख २३) मा हुनुपर्ने हो।
अमेरिकी विदेश मन्त्रालयको आधिकारिक सूचनाअनुसार डिभीको परिणाम यो वर्ष पूर्व निर्धारित सो मितिमा सार्वजनिक हुने छैन।
डिभी अन्तर्गत सन् २०१९ अक्टोबरदेखि नोभेम्बरसम्म धेरै नेपालीले डिभी चिट्ठा भरेका छन्। स्टेट डिपार्टमेन्टले अप्रिल २७ (वैशाख १५) मा डिभीसम्बन्धी एक सूचना जारी गर्दै परिणाम एक महिना ढिलो जुन ५ (जेठ २३) मा सार्वजनिक हुने जनाएको छ।
‘स्रोध साधन कोरोना भाइरस समाधान गर्न केन्द्रित भएका कारण चिट्ठा परिणाम एक महिना पर सारिएको हो’, स्टेट डिपार्टमेन्टको ब्युरो अफ काउन्सिलर अफेयर्सले भनेको छ, ‘नतिजा सार्वजनिक हुन ढिलो भए पनि अमेरिकाका जान लिइने अन्तर्वार्ता समयमा कुनै परिवर्तन हुने छैन।’


























