स्पेन, बैशाख १५ । अन्ततः स्पेनका बालबालिकाले खुला स्थानमा स्वास लिन पाएका छन्। विगत ६ हप्तादेखि घरमै सीमित भएका स्पेनका बालबालिका आइतबारदेखि घर बाहिर निस्कन पाएका हुन् केही बेरका लागि भए पनि।
लगातार घरमै सीमित हुँदा अत्तालिएका बालबालिकाहरु बाहिर निस्कन पाउँदा अति उत्साहित देखिएको स्पेनका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउनसँगै बालबालिकाहरु घर बाहिर निस्कन पाएका थिएनन्। तर संक्रमण कम हुँदै गएपछि केही समयका लागि बाहिर निस्कन दिइएका हो।
१४ वर्षमुनिका ६३ लाख बालबालिकालाई केही समय बाहिर निस्कन दिने गरी लकडाउन स्पेन सरकारले खुकुलो पारेको हो। अबदेखि हरेक दिन बालबालिकालाई बिहान ९ देखि राति ९ बजेको बिचमा एक घण्टा घरबाहिर निस्कन अनुमति दिइने छ।
तर उनीहरु एक किलोमिटर भन्दा पर जान पाउने छैनन्। साइकल, स्केट तथा स्केटबोर्ड चलाउन अनुमति दिइएको छ। तर सर्वाजनिक पार्कहरु बन्द नै रहने छन्।

मनोविमर्शकर्ताहरुले बालबालिकाका लागि दिइएको केही समयको छुट पनि उनीहरुको मानसिक स्वास्थ्यका लागि अति महत्वपूर्ण हुने भन्दै निर्णयको स्वागत गरेका छन्। लामो समय घरमै सीमित हुँदा विशेष गरी बालकालिकामा मनोसामाजिक प्रभाव परेको भन्दै चिन्ता व्यक्त गरिएको छ।



























