चितवन, बैशाख १२ । नेपालमा ‘लकडाउन’ जारी भएको एक महिना पूरा भएको छ। यो एक महिनामा केन्द्रीय अस्पतालको रूपमा रहेको चितवनको भरतपुर अस्पतालबाट करिब चार हजार बिरामीले सेवा लिएका छन्। गत चैत ११ देखि बैशाख ११ गतेसम्ममा भरतपुर अस्पतालबाट जम्मा तीन हजार ९५८ जनाले सेवा लिएको देखिन्छ। तीमध्ये तीन हजार ५१८ जनाले इमर्जेन्सी सेवाबाट उपचार गराएका छन् भने बाँकी ज्वरो क्लिनिकमार्फत सेवा लिएका देखिन्छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सेवा लिनेमध्येमा सात जना बिरामीले सघन उपचार कक्ष (आइसियू)बाट सेवा लिइरहेका छन्। करिब छसयभन्दा बढी शैय्या रहेको अस्पतालमा ३० शैय्याको आइसियू सञ्चालनमा छ। तर, लकडाउनका कारण बिरामीको चाप कम भएपछि अस्पताल नै खाली भएको छ। कोरोना भाइरसको रोकथाम गर्न सरकारले लकडाउन जारी गरेपछि अस्पतालले पनि आकस्मिक बाहेकका सेवा लिन अस्पताल नआउनू भनेकाले बिरामीको संख्यामा कमि आएको डा तिवारीले जानकारी दिए।
लकडाउनभन्दा पहिले भरतपुर अस्पतालबाट दैनिक एक हजारदेखि एक हजार पाँचसय जनासम्म बिरामीले बहिरंग (ओपिडी) सेवा लिँदै आएका थिए। लकडाउन अघिको तुलनामा लकडाउन पछिको बिरामीको संख्या बढीमा चार दिनको हो। तर, सुत्केरी सेवामा भने खासै कमी नआएको अस्पतालले जनाएको छ। गएको चैत महिनामा मात्रै ९०० जना महिलाले प्रसुती सेवा लिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा तिवारीले जानकारी दिए। ‘हामीकहाँ सुत्केरी सेवाका लागि आउने बिरामीको संख्यामा खासै कमि आएको छैन,’ उनले भने, ‘औषतमा ९०० देखि एक हजार जनाले मासिक सेवा लिँदै आएका छन्। गएको चैत महिनामा पनि ९०० जनाले सेवा लिएका छन्।’

अहिले सरकारले भरतपुर अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने अस्पतालको रूपमा विकास गरेको छ। जसअनुसार अस्पतालले ब्लक ‘ए’को भुइँतलालाई पूरै सिल गरेर कोरोना संक्रमणको उपचार गराउँदै आएको छ, जहाँ दुई जना कोरोना संक्रमित छन्। अस्पतालमा सेवा लिन आउने अन्य बिरामीलाई असर नपरोस् भनेर विशेष सावधानी अपनाएर उपचार सेवा दिँदै आएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा तिवारीले जानकारी दिए।


























