चितवन, बैशाख १० । जिल्लामा विदेशबाट आएका र कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ७ सय २६ जनाको र्यापिट डायग्नोष्टिक टेष्ट गरिएको छ। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार माडी नगरपालिकामा पाँचजना र राप्ती नगरपालिकाका केही व्यक्तिको अझै परीक्षण गर्न बाँकी छ।
कोरोना सङ्क्रमणको शुरुआतिमा प्रशासन कार्यालयबाट उपलब्ध गराइएको तथ्याङ्कअनुसार परीक्षणको काम सम्पन्न भएको भए पनि महानगरमा पछिल्लो समय विदेशबाट आएकाको तथ्याङ्क ठूलो सङ्ख्यामा रहेको जानकारी आएको उनले बताए। विदेशबाट नेपाल आएकाको तथ्याङ्क महानगरपालिकामा दुई हजारभन्दा बढी रहेको पछिल्लो तथ्याङ्कले देखाएको र उनीहरुको पहिचान गर्ने काम भइरहेको तिवारीले जानकारी दिए।
पहिचानका लागि वडाध्यक्षहरुको नेतृत्वमा काम भइरहेको छ। महानगरको ग्रामीण क्षेत्रमा पहिचानका लागि सहज हुने भए पनि शहरी क्षेत्रमा समस्या रहेको उनको भनाइ छ। पहिचानसँगै उनीहरुलाई भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसिआर परीक्षण गर्ने र र्यापिट टेष्ट गर्ने काम भइरहेको तिवारीले जानकारी दिए। जिल्लामा र्यापिट टेष्टका क्रममा दुईजनामा सङ्क्रमण देखिएको र उनीहरुको पिसिआर परीक्षणमा नेगेटिभ देखिएको छ। एक महिलामा शङ्कास्पद देखिएकामा उनको नतिजा पोजेटिभ आएको थियो।
यसैबीच यहाँ शुरु गरिएको भरतपुर कोभिड–१९ प्रयोगशालामा हालसम्म ३३० वटा स्वाब परीक्षण गरिएको छ। जसमध्ये दुईजनाको शङ्कास्पद देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको र त्यहाँबाट कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। प्रयोगशाला चैत २१ गतेदेखि सञ्चालनमा आएको हो।
प्रयोगशाला सञ्चालनमा आउनुअघि र प्रयोगशालामा परीक्षण किट अभाव भएपछि ६३ नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्र्रयोगशाला टेकु र प्रदेश प्रयोगशाला हेटौँडा पठाइएको उहाँले जानकारी दिए। सङ्क्रमित एकै परिवारका दुईजनालाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए। रासस


























