कैलाली, बैशाख ५ । सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा ३३ जना आवसीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर पठाएको छ।
संक्रमित र अन्य बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पठाएको ३३ जना चिकित्सकको टोली आज दिउँसो यति एअरलाइन्स्को जहाजमार्फत् धनगढी पुगेको हो। विभिन्न शिक्षण अस्पतालमा एमडी अध्ययनरत ती चिकित्सकलाई कोरोना भाइरसको उपचारका लागि सो मन्त्रालयले सुदूरपश्चिम पठाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
उनले प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वय तथा सिफारिसका आधारमा सुदूरपश्चिम आएका चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न जिल्लामा मुख्यमन्त्रीको कार्यालयले खटाउने जानकारी दिए। “निर्देशिकामै आवश्यकताअनुसार प्रदेश मुख्यमन्त्रीको कार्यालयले चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउने भनिएको छ।” उहाँले भने, “त्यसका लागि हामी आवश्यक गृहकार्य गरिरहेका छौँ ।” सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर, भीमदत्तनगरस्थित महाकाली अस्पताल, डडेल्लधुरा, बैतडी, दार्चुलालगायत जिल्ला अस्पतालमा परिचालन बताइएको छ ।
“डोटी र बाजुरामा अहिले आवश्यकता नभएको भन्ने आएको छ।” जोशीले भने, “अन्त पठाउने कुरो भएको छ।” सुदूरपश्चिममा चिकित्सक तथा स्वास्थ्यकर्मीको कमी रहेका बेला कोरोना परीक्षणको दायरा बढाउन चिकित्सक टोली पठाएको हो। यसअघि पनि ¥यापिट टेष्टका लागि केन्द्रबाट ६ जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली सुदूरपश्चिम आइपुगेको थियो।
बिहीबारसम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार २२६ जनाको नमूना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङख्या पाँच पुगिसकेको छ।


























