चितवन, बैशाख ३ । सवारीसाधन दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ३ गुणाले कमी आएको छ। फागुनको तुलनामा चैतमा दुर्घटनामा ज्यान गुमाउने संख्यामा कमी आएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार फागुनमा सवारी दुर्घटनामा परेर ९ जनाले ज्यान गुमाएका थिए। अहिले यो संख्या घटेर ३ मा पुगेको छ। यस्तै सवारी दुर्घटनामा परेर घाइते हुनेको संख्यामा पनि कमी आएको छ। फागुनमा सवारीसाधन दुर्घटनामा परेर १४ जना सख्त घाइते भएका थिए भने चैतमा ८ जना मात्र घाइते भएका छन्।
कार्यालय प्रमुख दयाकृष्ण भट्टका अनुसार लकडाउनका कारण अत्याबश्यक सवारीसाधनबाहेक अन्य नचलेकाले दुर्घटनामा कमी आएको हो। “सडक पनि सुनसान छन्, अन्य समयभन्दा अहिले बढी निगरानी पनि छ,” उनले भने।
चालु आर्थिक वर्षको चैतसम्म ९ महिनाको अवधिमा सवारीसाधन दुर्घटनामा परेर ९६ जनाको मृत्यु र १४५ जना सख्त घाइते भएको कार्यालय प्रमुख भट्टले जानकारी दिए।


























