बैशाख ३ । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन्।
ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, “डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो। त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु।”
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि डब्लुएचओले गरेको काम निकै कमजोर रहेको ट्रम्पले आरोप लगाएका छन्। डब्लुएचओ कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै असफल भएको ट्रम्पको अभियोग छ।
संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओमाथि ट्रम्पले गम्भीर आरोप लगाउँदै कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको समेत बताए। यो अवव्यवस्थाका लागि डब्लुएचओ जिम्मेवार हुनै पर्ने ट्रम्पले बताएका छन्। डब्ल्यूएचओलाई जवाफदेही बनाउनैपर्ने उनको भनाइ छ। यसअघि ट्रम्पले डब्ल्यूएचओले चीनप्रति आग्रह राखेको आरोप लगाएका थिए। “आफ्नो न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको छ र उसलाई जवाफदेही बनाउनैपर्छ,” ट्रम्पले थपे।
डब्लुएचओको खर्चमा अमेरिकाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको छ। गएको वर्ष अमेरिकाले डब्लुएचओलाई ४०० मिलियन अमेरिकी डलर दिएको थियो। यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो।
चीनको वुहानमा गएको डिसेम्बरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिँदा नै डब्लुएचओले राम्रो काम गर्न सकेको भए यसले विश्वव्यापी महामारीको रुप नलिने ट्रम्पले दाबी गरेका छन्।
यसअघि पनि अमेरिकाले डब्लुएचओको भूमिका सन्तोषजनक नभएको भनेर आलोचना गरेको थियो। त्यसलगत्तै डब्लुएचओले कोरोना भाइरसको महामारीलाई कसैले पनि राजनीतिकरण गर्न नहुने प्रतिक्रिया दिएको थियो।
अमेरिका कोरोनाभाइरस महामारीको अहिले केन्द्रबिन्दुमा छ जहाँ ५,९२,७४३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २५,२३९ जनाको मृत्यु भएको छ।


























