चितवन, चैत्र ३० । भरतपुर महानगरपालिका २ मा रहेको महानगर तरकारी बजारमा कार्यरत मजदुरलाई आइतबार फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनले राहत वितरण गरेको छ। कोरोना भाइरसको कारण देश नै लकडाउन भएपछि ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका परिवारलाई समस्या परेको जानकारी पाएपछि संघले विवरण संकलन गरेर वास्तविक अभावमा परेकालाई राहत उपलब्ध गराइएको संघका अध्यक्ष मदनप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार उक्त बजार क्षेत्रमा कार्यरत ६५ जना मजदुरको परिवारलाई सहयोग गरिएको हो।

उद्योग वाणिज्य संघ चितवका अध्यक्ष राजु श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, स्थानीय ६ वटा टोलका संयोजक जयराम खत्री, पूर्वअध्यक्ष शालिकराम घिमिरे, निवर्तमान अध्यक्ष थिरप्रसाद धिताललगायतको उपस्थितिमा भएको कार्यक्रममा चामल, दाल, नुन र तेललगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको थियो।



























