चैत्र २८ । भारतमा कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बलिउड अभिनेताहरुले आ-आफ्नो क्षेत्रबाट सहयोग जारी राखेका छन्।
बलिउड मेगास्टार अमिताभ बच्चन यतिबेला दीनदुखी, गरिब तथा मजदूरहरुको भोको पेट भर्ने अभियानमा जुटेका छन्। उनले विहीबारमात्रै करिव २ हजार खानाको प्याकेट वितरण गरेको जनाइएको छ।
कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन लागू गरेसँगै काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि उनले खानाको प्याकेट वितर गरेका हुन्।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले २००० प्याकेट खाना वितरण गरे। उनले आवश्यक पर्ने अन्य सामान पनि वितरण गरेका छन्। आगामी दिनमा पनि उनीहरुका लागि सहयोग जारी राख्ने बताएका छन्।
अभिनेताले हाजी अली दरगाह, माहीम दरगाह, बाबुलनाथ मन्दिर, वांद्रेको बस्ती र शहरको उत्तर भागमा रहेका केही बस्तीहरूमा खानाको प्याकेट वितरण गरेका हुन्।
राहात वितरण गर्दा भीडभाड बढी हुने भएकाले सबैलाई सामाजिक दूरी अपनाउन आग्रह गरेका थिए। यस कार्यमा प्रहरीलाई सघाउन समेत उनले अनुरोध गरेका छन्।


























