चैत्र २४ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ।
पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ संक्रमित भेटिएका छन्। यो सँगै भारतमा संक्रमित हुनेको संख्या ४ हजार २८८ पुगेको छ। भारतमा संक्रमितमध्ये ३२८जना उपचारपछि निको भएका छन्। ३ हजार ८४३ जना उपचाररत छन्।
यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख ७२ हजार नाघेको छ। विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१८ पुगेको छ।
एकै दिन ७१ हजार २५४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या विश्वमा १२ लाख ७२ हजार ७३७ पुगेको छ। संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारपछि निको भएका छन्।
हालसम्म सबैभन्दा बढी अमेरिकामा ३ लाख ३६ हजार बढी संक्रमित देखिएका छन् भने अमेरिकामा ९ हजार ६ सय बढीको ज्यान गएको छ। त्यसैगरी स्पेनमा १ लाख ३१ हजार बढी संक्रमित रहेका छन्। जहाँ १२ हजार ६४१ बढीको ज्यान गएको छ।
त्यस्तै इटालीमा १५ हजार ८ सय ८७ जनाको ज्यान गएको छ भने १ लाख २८ हजार बढी संक्रमित भएका छन्। चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ। एजेन्सी