काठमाडौं, चैत्र २२ । नोबेल कोरोना भाइरस कोभिड १९ को शङ्कामा नेपालमा हालसम्ममा १२ सय ७७ जनाको नमूना परीक्षण गरिएको छ। यो परीक्षणबाट ६ जनामा मात्रै कोभिड १९ पुष्टि भएको छ। ६ जनामध्ये एक जना स्वस्थ भएर घर फर्किसकेका छन्।
नेपालमा एक सय २० जना आइसोलनमा रहेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देबकोटाले एक सय सात जनाको नमूना परीक्षण गर्ने तयारी भएको बताए। उनीहरूको विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गर्नेछ।
कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका ९२ जनाको नमूना संकलन गरिएको र नतिजा आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता देबकोटाले जानकारी दिए। भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका सबै ५६ जनाको पनि नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ।
Facebook Comments