काठमाडौं, चैत्र २१ । औषधि उपचार सम्बन्धी सामग्री लिन चीनको ग्वाङजाओ गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ।
नेपाल एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन चार्टर गरेर जहाज चीन लगेका थिए। जहाज बिहीबार काठमाडौंबाट चीनको ग्वाङजाओ प्रस्थान गरेको थियो।
यसअघि सरकारको तर्फबाट पनि एकपटक उपचार सामग्री लिएर नेपाल एयरलाइन्सकै वाइडबडी जहाज काठमाडौं आएका थियो। तर, बिनाप्रतिस्पर्धा निकै महँगो मूल्यमा उपकरण खरिद सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएपछि सरकमार पछि हटेको छ।
विरोधपछि स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग खरिद सम्झौता रद्द गरिसकेको छ। अब तत्काल नयाँ प्रक्रियाबाट फेरि काम अघि बढाइने पनि सरकारले जानकारी दिएको छ।


























