चितवन, चैत्र १९ । चितवनको सौराहा क्षेत्रका हात्ती व्यवसायीहरुले लकडाउनका कारण हात्तीहरुलाई आवश्यक पर्ने आहारको अभाव भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरुले हात्तीको आहारका लागि निकुञ्ज कार्यालयले घाँस उपलब्ध गराउनुपर्ने पनि माग गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकलाई हात्ती सफारी गराउन सौराहामा निजीस्तरबाट हात्ती पालिएका छन्। यसअघि आफ्नै तरिकाले हात्तीका लागि आहार जुटाउँदै आएका व्यवसायीहरुले लकडाउनका कारण भने समस्या भएको बताएका छन्।
युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी लकडाउनका कारण हात्तीहरुलाई खुवाउने दानासहितको आहार जुटाउन नसकिएको बताउँछन्। यस्तो अवस्थामा हात्तीहरुको प्राण बचाउनका लागि पनि निकुञ्ज कार्यालयले घाँस उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।
‘हामीले निकुञ्जबाट घाँस दिनुपर्छ भनेर धेरै पहिलेदेखि माग राखेका थियौँ,’ ‘तर अहिलेसम्म सुनुवाई भएको छैन। अहिलेको अवस्थामा पशु अधिकारकर्मीहरु समेत केही बोलेका छैनन्।’ एउटा हात्तीलाई दैनिक २ सय ५० किलो आहारा आवश्यक पर्ने तिवारीको भनाइ छ।
यसअघि हात्तीलाई घाँससँगै दाना पनि दिने गरिएको क्षेत्रीय होटल संघका अध्यक्ष दिपक भट्टराईले सुनाए। ‘लकडाउनका कारण दाना दिन सकिएको छैन। यस्तो अवस्थामा हात्ती दुब्लाउला कि भन्ने चिन्ता बढेको छ,’ भट्टराईले चिन्ता व्यक्त गर्दै भने। निकुञ्जले घाँस मात्रै उपलब्ध गराइदिएको भए हात्ती जोगाउन सकिने भट्टराई बताउँछन्।
हात्ती व्यवसायीहरुले सरकारीस्तरबाट भेटेरिनरी डाक्टर, निकुञ्जबाट घाँसको उपलब्धता र बिमाको व्यवस्था गर्नुपर्ने व्यवसायीहरुले माग राख्दै आएका छन्।चितवनको सौराहामा अहिले ७० वटा निजी हात्तीहरु रहेका छन्।


























