ब्राजिलमा चार हजार ६ सयभन्दा बढी कोरोना संक्रमित भेटिइसकेका छन्, जसमध्ये एक सय ६५ को मृत्यु भइसकेको छ। तर, ब्राजिलका प्रजातन्त्रवादी राष्ट्रपति जाइर बोल्सोनारो भने जनताको स्वास्थ्यप्रति ढुक्क छन्। उनको यही ढुक्क हुनु उनको शासनको लागि संकट बन्न सक्ने देखिएको छ।
उनले कोरोना भाइरस (कोभिड-१९) लाई लिएर दिएको टिप्पणी व्यापक विवादित बनेको छ। आइतबार उनले कोरोना भाइरसको संकटलाई ‘मिडिया ट्रिक’को संज्ञा दिएका थिए। उनले भनेका छन्– ‘अहिले संकट संकटभन्दा पनि बढी सञ्चारमाध्यमले फिँजाएको हल्ला मात्रै हो।’
उनी थप्छन्, ‘मलाई लाग्छ ब्राजिलका जनतालाई पहिले नै यसको संक्रमण भइसकेको हुनुपर्छ, केही हप्ता वा महिना पहिले नै र आफ्नो शरिरमा भएको एन्टिबडीले भाइरसलाई द्रुत गतिमा फैलिनबाट रोक्न मदद गरिरहेको छ।’
आफ्नो कदमको बचाऊ गर्दै उनले भनेका छन्, ‘हामी कोरोना भाइरसविरूद्ध काम गर्नेछौं। तर मान्छे जस्तो भएर न कि बच्चा भएर।’
आइतबार नै ब्राजिलका स्वास्थ्य मन्त्रीले बोल्सोनारोलाई शारीरिक दूरी कायम राख्न र खुलरूपमा बाहिर ननिस्कन गरेको आग्रहलाई बेवास्ता गर्दै उनले जवाफ दिएका थिए, ‘हामी सबै एक दिन मर्नेछौं।’
बोल्सोनारोको यो अभिव्यक्ति उनलाई महङ्गो पर्ने संकेत देखिन थालेको छ। विपक्षी मात्र होइन, उनका सहयोगीहरू पनि उनको विरूद्धमा बोल्न थालेका छन्। उनका सहयोगी नेता किम केटगुरीले राष्ट्रपतिको यो अभिव्यक्तिलाई ‘अस्वाभाविक, अनुत्तरदायी र पपुलिस्ट’ भनेका छन् र यसबाट ब्राजिल खतरामा रहेको जनाएका छन्। उनको आरोप छ कि राष्ट्रपति यतिबेला कोरोना भाइरसविरुद्ध लड्नुको साटो पुनर्निर्वाचनको विषयमा मुख्य रूपमा केन्द्रित छन्।
‘दुर्भाग्यपूर्ण रूपमा हामीसँग यतिबेला तुच्छ नेतृत्व छ, जोसँग आफैंले गरेको निर्णय र वक्तव्यको लागि कुनै प्राविधिक आधार छैन,’ केटगुरी थप्छन्, ‘मलाई चिन्ता लागिरहेको छ कि, हामी ब्राजिलको इतिहासमा यो शताब्दीकै खराब स्वास्थ्य र आर्थिक संकट भोग्नेछौं। हामीलाई यो बेला एउटा बलियो कार्यकारीको खाँचो छ जसले यो गैरजिम्मेवारीपन र असम्वेदनशीलतालाई समाधानतर्फ लान सकोस्।’
विपक्षी दलका नेताहरूले पनि राष्ट्रपतिको आलोचना गर्दै राजीनामा माग्न थालेका छन्। उनीहरूले राष्ट्रपतिको अभिव्यक्तिलाई ‘स्वार्थपूर्ण र गैरजिम्मेवारीपूर्ण’ बताएका छन्। कोरोना भाइरसलाई कम आँक्नु र नैतिकरूपमै यसविरूद्ध लकडाउन र क्वारेन्टाइनको व्यवस्था गर्न आनाकानी गर्नुको कारणले बोल्सोनारोप्रति समाजको ठूलो हिस्सा आक्रोशित बनिरहेको उनीहरूको आरोप छ।
‘ब्राजिललगायत विश्वले यतिबेला आधुनिक इतिहासको आपतकाल व्यहोरिरहेको छ तर गैरजिम्मेवार राष्ट्रपतिको कारणले हाम्रो देशले आपतकालको पनि सबैभन्दा खराब स्थितिको सामना गर्दैछ,’ सोमबार बिहानै बोल्सोनारोका प्रखर विपक्षीहरूले एउटा घोषणापत्र नै जारी गरेर भनेका छन्, ‘फैलिरहेको संक्रमणलाई कम गर्न र जीवन बचाउनको लागि बोल्सोनारो ठूलो बाधक हुन्।’ यो घोषणापत्र ‘फोल्हा डि साफ पाउलो’ नामक पत्रिकामा प्रकाशित भएको थियो।
घोषणापत्रले थप भनेको छ कि बोल्सोनारो अब ब्राजिललाई डोर्याउन सक्ने अवश्थामा छैनन्, उनले अपराध गरेका छन्। ‘हामीलाई यस महामारीसँग जुध्नको लागि एकता र समझदारीको आवश्यकता छ, न कि त्यस्तो राष्ट्रपति जो जनस्वाश्थ्य अधिकारीहरूको विरूद्धमा गइरहेका छन्। आफ्नो शासनलाई राजनैतिक फाइदाको लागि प्रयोग गरिरहेका छन्। उनी एउटा राजनैतिक समस्या हुन्, जनस्वाश्यकै समस्या हुन्, त्यसैले उनले राजीनामा दिनुपर्छ,’ घोषणापत्रमा माग गरिएको छ।
‘बोल्सोनारोको कारण ब्राजिल समाप्त हुनु हुँदैन’ नाम दिइएको यो घोषणापत्रमा ब्राजिलका वामपन्थी नेताहरूले हस्ताक्षर गरेका छन्।
घोषणापत्रमा हस्ताक्षर गर्नेमध्येका एक नेता काइरो गोम्सले ‘द गार्जियन’लाई भनेका छन्, ‘बोल्सोनारोले अन्तराष्ट्रिय अदालतको सामु मानवता विरूद्धको यो अपराधको जवाफ दिनुपर्नेछ, यसको लागि म स्वयम् काम गर्नेछु। ए लापरवाह मान्छे, राजीनामा देऊ।’
घोषणापत्रमा हस्ताक्षर गर्ने अर्का नेता गिलहेम बुलोस् भन्छन्, ‘बोल्सोनारो अहिले राजनैतिक संकट भन्दा पनि बढी जनस्वास्थ्य संकटको प्रतिनिधित्व गरिरहेका छन्। हामी उनले यो देश चलाउन सक्छन् भन्ने कुनै बाटो देखिरहेका छैनौं। यसले ठूलो संख्यामा मानवजीवनको मूल्य चुकाउनुपर्नेछ।’
बुलोसको आरोप छ कि बोल्सोनारोले लकडाउन, क्वारेन्टाइन र सामाजिक दूरीको लागि आनाकानी गर्नुको कारण भनेको व्यापरीहरूको स्वार्थ अनुरूप हो, किनकि यसले ति व्यापारीहरूको व्यापारमा संकट आउनेछ। ‘उनीहरूको स्वार्थ नाफा कमाउनुमा छ, न कि जनताको जीवनप्रति,’ बुलोसको आरोप छ।
सोमबार नै १३ सांसदको भेलाले ‘सामाजिक दूरीको लागि’ नामको अर्को घोषणापत्र जारी गरेको छ, जुन बोल्सोनारोको अभिव्यक्तिको विरूद्धमा छ। उनीहरूको भनाइ छ कि कुनै प्रामाणिक औषधि र भ्याक्सिन नभएको वर्तमान अवस्थामा यो महामारीको असरलाई कम गर्नको लागि यससँग लडिरहेका अन्य देशहरूले जस्तै सामाजिक दूरीको तरिका अपनाउनु सहि हुनेछ।
ब्राजिलिया गभर्नरले समेत कोरोनासँग लड्नको लागि सामाजिक दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ। यो सुझावको विरोधमा बोल्सोनारोका समर्थकहरूले विरोध प्रदर्शनसमेत गरेका छन्।

यी आलोचनाहरूको बोल्सोनारोले खण्डन गरेका छन्। उनको दाबी छ कि उनको कदम मजदुर र अर्थतन्त्र बचाऊको लागि हो।
बोल्सोनारो सोसल लिबरल पार्टीको तर्फबाट २०१८ को चुनावमा ५५.१ प्रतिशत मतका साथ ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले २०१९ को जनवरी १ देखि ब्राजिलको सत्ता सम्हालेका हुन्।
अब हेर्न बाँकी छ- ५५.१ प्रतिशत मत पाएका राष्ट्रपति बोल्सोनारोको सत्ता, विपक्षीअघि कत्तिको बलियो सावित हुनेछ र उनको सत्ता कहिलेसम्म टिक्नेछ?
[द गार्जियन र द ब्राजिलियन रिपोर्टको सहयोगमा]

























