काठमाडौं, चैत्र १६ । चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएको छ। प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन पाउने भएको हो।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय गरेको हो। प्रदेश १ को धरानमा परीक्षण सुरु भइसकेको छ।
चीनबाट ल्याइएको पाँचवटा पीसीआर मेसिनमध्ये एक थान भने हाल काठमाडौंमा नै राखिनेछ। ‘यो भोलिका दिन जहाँ बढी जरुरत हुन्छ, त्यहाँ पठाइनेछ’ समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भनेका छन्।
उच्चस्तरीय समितिले प्रत्येक प्रदेशमा एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री पठाइने निर्णय गरेको विडारीले जानकारी दिए।


























