रसुवा, चैत्र १५ । रसुवागढी नाका कसरी खोल्ने भन्नेबारे अन्योल देखिएको छ। अत्यावश्यक सामग्री ल्याउन कसरी गाडी पठाउने भन्नेमा अन्योल देखिएको हो।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएको नाकाबाट अत्यावश्यक सामग्री ल्याउनका लागि तयारी थालिएको भए पनि कसरी खुलाउने भन्ने बारे नै अन्योल देखिएको हो।
केरुङमा रोकिएर रहेका अत्यावश्यक सामग्री आयात गर्नका लागि व्यवसायीले अहिले छन्। प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले रसुवागढी र तातोपानी नाका खोल्नका लागि सरकारले निर्णय गरेको भए पनि कसरी खुलाउने भन्ने विषयमा स्पष्ट मार्गनिर्देशन नआएको बताए।
‘नाका खुलाउने विषयमा आन्तरिक तयारी गरिरहेका छौं’, उनले भने, ‘तर कसरी खुलाउने भन्ने विषयमा मार्गनिर्देशन आइसकेको छैन।’
नाकाबाट अत्यावश्यक सामग्री आएमा जाँचपास गर्न कुनै समस्या नरहेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए। ‘सामग्री आयात भएमा सुरक्षित रूपमा जाँचपास गरिने छ’, उनले भने, तीन चार दिनमा सामग्री आउने सम्भावना छ।’
नाकामा अहिले थोरै सवारी साधन राखिएको छ। केरुङमा रहेका सामग्री आयातका लागि ३ सय कन्टेनर आवश्यक पर्छ। नाका सञ्चालनमा आएपनि मानिसलाई आवतजावत गर्न भने रोक लगाइने छ।