काठमाडौं, चैत्र १३ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई पहिलो चरणमै कोरोनाभाइरसको महामारी रोक्न सचेत गराएको छ। यदि पहिलो चरणमै संक्रमण फैलिनबाट रोक्न नसके नेपालमा महामारी फैलिने उसको चेतावनी छ।
नेपालमा अहिलेसम्म तीनवटा कोरोना संक्रमित केस देखिएको छ। तीनवटै केस विदेशबाट आएका छन्। नेपालमै भने कोरोना संक्रमित अहिलेसम्म पाइएको छैन। सोही कारण डब्लुएचओले पहिलो चरणमै कोरोनाको संक्रमण रोक्न नेपाललाई विशेष आग्रह गरेको हो।
इटाली, स्पेन र भारतमा देखिएको लापरबाहीले कोरोना भाइरस चरण चरणमा प्रवेश गरेको उसको भनाइ छ। पछिल्लो समय इटाली र स्पेनमा दैनिक सात सयको मृत्यु हुँदै आएको छ। दुवै देशले चीनलाई उछिनिसकेका छन्। विदेशबाट आएकाबाट पहिलो चरणमा फैलिएको कोरोना भाइरसलाई फैलिएको आधारमा विश्व स्वास्थ्य संगठनले चार चरणमा वर्गीकरण गरेको छ।
पहिलो चरण– बिदेशबाट आएकाहरूमा मात्र कोभिड–१९ पोजेटिभ देखिएकोमा दोस्रो चरणमा उनीहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र देखिएको थियो। तेस्रो चरणमा भने कहिँ कतै नगएका र विदेशबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकालाई कोरोना पोजेटिभ देखिने चरणमा पुग्ने बताइएको छ।
चौथो चरणमा महामारीको रुपमा फैलिने भविष्यवाणी गरिएको छ। चीन र इटाली चौथो चरणबाट गुज्रीरहेको विश्व स्वास्थ्य संगठनको विश्लेषण छ। भरत तेस्रो चरणमा प्रवेश गर्दै गरेको अवस्था छ।


























