चितवन, चैत्र १२ । भारतले नाकाबन्दी लगाउँदा जिल्ला प्रशासन कार्यालय चितवनमा डिजेल तथा पेट्रोलको कुपन लिनेहरुको भिड लाग्ने गर्दथ्यो।
अहिले सरकारले कोरोना भाइरसको प्रकोप नफैलियोस् भनेर सात दिने लकडाउन गरेका बेला जिल्ला प्रशासन कार्यालय चितवनमा ‘पास’ बनाउनेहरूको भिड लाग्न थालेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनमा राजनीतिक दलको फोर्स लगाएर पास लिनेदेखि विभिन्न समयमा काम लाग्छ भनेर पास लिन आउनेहरू बढ्न थालेका छन्।
मंगलबार र बुधबार बिहान पास बनाउने आउनेहरुले दुःख दिएको प्रशासनका कर्मचारीहरु बताउँछन्। लकडाउनको दोस्रो दिन दिउँसो १२ बजेसम्म झण्डै चार सयभन्दा बढीले सवारी पास लिएका छन्।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पास लिन आउने भिड देखेर आफूहरू तीन छक परेको बताए।
‘मान्छेहरुले यसलाई नेपाल बन्द वा अन्य कुनै चुनावी उत्सव ठानेको जस्तो गरेर पास माग्न आएका छन्,’ सहायक प्रजिअ शर्माले भने, ‘सचेत मान्छेहरु नै अग्रभागमा देख्दा म आफै अचम्मित हुन्छु।’
उनले कयौं मानिसहरुलाई पास नदिइ सम्झाइ बुझाइ गरेर फर्काएको बताए। अत्यावश्यक काम बाहेकका कसैलाई पनि पास दिने नीति नरहेको उनले बताए।


























