लन्डन, चैत्र ९ । विश्वलाई नै आतंकित बनाउँदै आएको कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ। लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको गत मंगलबार नर्थविकपार्क हस्पिटलमा कोरोना भाइरसका कारण मृत्यु भएको हो।
कोलेस्ट्रोल, घुँडा सुन्निने जस्ता रोगबाट ग्रसित राईको दुई दशक अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
करिब तीन हप्ता हस्पिटल बसेर कोरोनाको महामारीका कारण डिस्चार्ज गरिएका राई पछिल्लो समय रुघा, खोकी र निमोनियाबाट ग्रसित थिए। सेकेन्ड गोर्खा राइफल्समा १७ वर्ष सेवा गरेका राई श्रीमती र छोराबुहारीका साथ बेलायतमा बस्दै आएका थिए।
हाल सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा बस्दै आएका राई सन् २००८ मा बेलायत आएका हुन्। मृतक राईका परिवारलाई अहिले ‘आइसोलेशन’मा राखिएको र उनीहरुसँग भेटघाट गर्न रोक लगाइएको संखुवासभा समाज यूकेका अध्यक्ष नैनसिंह गुरुङले जानकारी दिए।
बेलायतमा झन्डै २० हजार भूपू गोर्खाली छन् । हजारौंको संख्यामा नेपालीहरु यहाँको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत छन्। स्वास्थ्यकर्मीहरुको अभावका कारण सरकारले ६५ हजार रिटायर्ड स्वास्थ्यकर्मीरुलाई पुनः काममा आउन आग्रह गरेकोमा ४ हजार ५ सय जनाले कोरोनाविरुद्ध सहयोग गर्न तत्परता देखाइसकेका छन्।
यहाँका नेपालीहरुको प्रमुख व्यवसाय अन्तर्गत पर्ने रेष्टुरेन्ट अहिले बन्द भएका छन्। शुक्रबार साँझबाट स्कुलहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणासँगै सबै रेष्टुरेन्ट, पप, बार, क्याफे, सिनेमा, थियटर र जिमघरहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।
व्यावसायामा पर्न जाने असुविधालाई मध्यनजर गर्दै सरकारले भ्याट तथा कर सम्बन्धी विशेष राहत प्याकेज प्रस्तुत गरेको छ। कोरोनाका कारण बेरोजगार हुने कामदारलाई उनीहरुको मासिक कमाइको ८० प्रतिशत तथा बढीमा २५ सय पाउण्डसम्म रकम सहयोग गर्ने घोषणा सरकारले गरेको छ।
बेलायतमा हालसम्म २३३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ५ हजार १८ जान यस रोगबाट संक्रमित छन्।



















