चैत्र ८ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसको उच्च जोखिममा युवा पनि रहेकाले सचेत हुन सुझाव दिएको छ।
डब्लूएचओले जथाभावी हिँडडुल नगर्न र बालबालिका तथा पाका व्यक्तिसँग घुलमिल नगर्न युवाहरुलाई सुझाव दिएको छ। अहिलेसम्म यसको अधिक चपेटमा वृद्ध उमेकार व्यक्ति परिरहेका भए पनि युवा पनि यसको खतराबाट मुक्त नरहेको भन्दै होसियार अपनाउन डब्ल्यूएचओले सुझाव दिएको हो।
डब्लूएचओका डाइरेक्टर टेडरोज एडहानोम गिब्रियसोसले भनेका छन्, ‘युवाहरुको रोग प्रतिरोधात्मक क्षमता कोरोना भाइरसबाट मुक्त छैन। उनीहरु कसैको मृत्यु र जीवनको कारक बन्न सक्छन्। त्यसैले युवाहरुले बालबालिका, पाका व्यक्ति र कमजोर स्वास्थ्य भएकाहरुसँग दुरी कायम राखुन्।’
अध्ययनले कुनै पनि उमेर समूहका मानिसमा कोरोनाको संक्रमण हुनसक्ने तर बुढाबुढी र दीर्घरोगी बढी जोखिममा रहेका देखाएको छ। कोरोना भाइरस संक्रमित ११ हजारभन्दा धेरै मानिसको स्वासप्रश्वासका कारण ज्यान गएको पाइएको छ।
अहिलेसम्म विश्वका १ सय ८५ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा गरी २ लाख ७५ हजार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ९० हजार ९ सय ४३ जना उपचारपछि निको भएका छन् भने १ लाख ७२ हजार ७ सय १६ जना उपचार गराइरहेका छन्। ११ हजार ३ सय ७० जनाको ज्यान गएको छ।
इटालीमा औसतमा साढे ७८ वर्षका मानिसको ज्यान गएको पाइएको छ। चीनमा कोरोनाका कारण ज्यान गुमाउने १ प्रतिशतभन्दा थोरै मानिस ५० वर्षमुनिका रहेको न्यूयोर्क टाइम्सले जनाएको छ। तर १५ प्रतिशतभन्दा धेरै ८० वर्ष उमेर कटेका रहेका पाइएको छ।


























