काठमाडौँ, चैत ६ । मानिसको आवतजावतले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको डर हुने भन्दै सरकारले छिमेकी देशसँगका सबै नाका बन्द गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने, ‘सबै नाका बन्द गर्ने विषयमा छलफल भएको छ, त्यसको निर्णय भने भोलि हुनेछ।’
मन्त्री भट्टका अनुसार समितिको अर्को बैठक शनिबार साँझ ५ बजे पुनः बस्दैछ। उक्त बैठकबाट कहिलेदेखि कहिलेसम्म नाका बन्द गर्ने भन्ने विषयमा निर्णय गर्नेछ। कोरोना संक्रमण फैलिनबाट जोगाउन हवाइमार्ग र सीमानाकाबाट प्रवेश रोक लगाउनुपर्ने नागरिक र विभिन्न क्षेत्रबाट माग भइरहेको बेला सरकारी निकायले सीमा बन्दको छलफल प्रक्रिया अगाडि बढाएको हो।
शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेकका सेवा चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने जानकारी गराइसकेका छन् भने चैत १० देखि लामो दूरीका यातायात बन्द गर्ने जानकारी गराइसकेका छन्। शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेलकाे अध्यक्षतामा बैठक बसेकाे हाे।


























