काठमाडौं, चैत्र ७ । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा पनि ‘लकडाउन’ हुनसक्ने चर्चा चलेको छ।
यद्यपि सरकारले यसबारे आधिकारिक निर्णय गरिसकेको छैन। विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा हेरिएको ‘लकडाउन’ कुनै पनि मुलुकका लागि बाध्यात्मक परिस्थिति हो। अर्को शब्दमा भन्दा यो ‘होम क्वारेन्टाइन’को अवस्था हो ।
छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’ कै स्वरूपमा ‘जनता कर्फ्यु’ लगाउने निर्णय गरिसकेको छ। जानकारहरूका अनुसार अहिले हुने चर्चा भएको ‘लकडाउन’ कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि अपनाइएको कठोर सुरक्षा हो।
‘लकडाउन’ पुरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ। ‘लकडाउन’ भएको अवस्थामा विभिन्न क्षेत्रको भौतिक सम्बन्ध निश्चित समयका लागि विच्छेद सम्भावना रहन्छ। जस्तो कि काठमाडौं उपत्यकालाई ‘लकडाउन’ गरियो भने उपत्यकामा रहेका व्यक्ति अत्यावश्यक काममा त्यो पनि अनुमति लिएर मात्रै जान पाउनेछन्। चीनको बुहानमा पनि यस्तै नीति अलबम्बन गरिएको थियो।
गम्भीर महामारीका रूपमा देखिएको कोरोनाको संकटबाट जोगिन उपयुक्त तयारीका साथ गरिएको ‘लकडाउन’ प्रभावकारी हुने जानकारहरू बताउँछन्।
‘लकडाउन’ को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो। त्यही नीतिअनुसार नेपालमा पनि सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ।
यसबाहेक स्कुल, कलेज, डान्सबार, जिम, सिनेमा हल, सभा समारोह पनि तत्कालका लागि स्थगित भइसकेका छन्। शुक्रबारबाट देशभरका अदालतसमेत बन्द भएका छन्। सार्वजनिक यतायतमा पनि सुरक्षा अपनाइएको छ।
यस्तोमा अब सरकारले निश्चित समयका लागि होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात र सरकारी कार्यालयसमेत बन्द हुनसक्ने सम्भावना रहन्छ। ‘लकडाउन’ समयमा अत्यावश्यक सामग्रीको तयारी पूर्वतयारी गर्नु हितकारी हुनसक्छ।


























