काठमाडौं, चैत्र ५। नेपालमा कोभिड-१९ को संक्रमणको आशंकामा हालसम्म ४९६ जनाको परीक्षण गरिएको छ। त्यसमध्ये ४९५ जनाको रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ९ माघको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएका एक जना पनि हाल निको भइसकेका छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा अहिले कोरोना भाइरस संक्रमणको आशंकाका ४ जना बिरामी रहेको अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए।
‘उहाँहरू चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनुहुन्छ,’ बाँस्तोलाले भने, ‘आवश्यक परीक्षणको लागि ल्यावमा नमूना पठाएका छौँ, रिपोर्ट आइसकेको छैन।’
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको उपचार र परामर्शका लागि हरेक दिन बिहान ८ देखि बेलुका ८ बजेसम्म हटलाईन सेवा संचालनमा ल्याएको छ। हटलाईन सेवाका नम्बरहरूमा ९८५१२५५८३९, ९८५१२५५८३७, ९८५१२५५८३४ रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताहरूका लागि बिहान ६ देखि राति १० बजेसम्म १११५ नम्बरको कोभिड-१९ कल सेन्टरु संचालन गरिएको छ।

























