चितवन, चैत्र ३ । चितवन प्रशासनले कालोबजारीको बिरुद्ध ‘शून्य सहनशीलता’ अपनाउने बताएको छ। सोमबार जिल्लाका पत्रकारहरुसँगको भेटघाटमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले कोरोना भाइरसको हल्लासँगै चितवनमा कालोबाजारी बढेको सूचना पाएको बताए।
उनले कालोबजारीको बिरुद्ध उत्रन नागरिक समाजलाई आह्वान समेत गरे। कोरोना भाइरसको हल्लासँगै बजारमा सामान स्टक राखेर कृतिम अभाव देखाउने, उपभोक्ताले पनि आवश्यकता भन्दा बढी सामान थुपार्ने प्रवृत्ती बढेको सूचना प्राप्त भएको उनले बताए।
“हामीले ग्राहकको भेषमा अनुगमन गरिरहेका छौं”, उनले भने, “कानून विपरित गरेको पाइएमा कानूनमा उल्लेख भएको अधिकतम कारबाही गरिनेछ।” उनले बजारमा मास्क, स्यानिटाइजर तथा दैनिक उपभोग्य बस्तुहरु ग्याँस, पेट्रोल तथा खाद्यान्नमा मनोमानी चलिरहेको भन्दै सुध्रिन आग्रह गरे।
प्रजिअ भट्टराइले चितवन प्रशासनले जिल्लामा कोरोना भाइरसको संक्रमण प्रवेश नै नगरोस भनेर सतर्कता अपनाएको बताए। उनले संक्रमण भइहालेमा त्यसको व्यवस्थापनका लागि पनि तयारी भइरहेको बताए। हाल भरतपुर अस्पतालमा मात्र रहेको आइसोलेसन वार्डलाई बिस्तार गरी कम्तिमा ७५ शैयाको बनाउने तयारी रहेको उनले बताए।
अहिले भरतपुर अस्पतालमा १९ शैयाको वार्ड रहेकोमा जिल्लाका दुई मेडिकल कलेजमा २०/२० शैया तथा अन्य अस्पतालहरुमा २ देखि ५ शैयाका दरले आइसोलेसन वार्ड स्थापना गर्ने तयारी भएको उनले जानकारी दिए।

























