काठमाडौं, चैत्र ३ । विश्वभर अहिले कोरोना भाइरसको त्रास फैलिएको छ।
चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघिसकेको छ। चीन, अमेरिका, दक्षिण कोरिया सहित १ सय ५७ देशमा कोरोना संक्रमितको संख्या डेढलाख भन्दा बढी भइसकेको छ।
नेपालमा भने हालसम्म एकजनामा कोरोनाको संक्रमण देखिएको र ती व्यक्रिलाई पनि ठिक भइसकेको स्वास्थ्य मन्त्रालयको दावी छ। सरकार अहिले कोरोना नेपालमा भित्रिन नदिन उच्च स्तरिय समिति नै गठन गरेर कोरोना संक्रमणको प्रतिकार्यमा व्यस्त भएको छ।
कोरोनाको संक्रमण नेपाल भित्रिन नदिन पूर्व तयारीमा लागेको सरकार सामु अर्को चुनौती थपिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले नेपालमा डेंगुको संक्रमण देखिन थालेको जनाएको छ।
जाडो मौसम सकिएपछि शुरु हुने डेंगुबाट जनावरी देखि हालसम्म ३६ जना बिरामी परेको महाशाखाको तथ्यांक छ। विश्वभर कोरोना भाइरसको त्रास बढ्दै जाँदा नेपालमा डेंगुको रोग समेत थपिने संकेत महाशाखाको तथ्यांकले नै देखाएको छ।
गत साउनदेखि कात्तिक सम्ममा नेपालमा भण्डै १५ हजार व्यक्तिमा डेंगु रोग देखियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन देखि कात्तिक सम्ममा डेंगुका कारण ६ जनाको मृत्यु भएको थियो। त्यसैले अब नेपालमा कोरोना भाइरसको विषयमा मात्र होइन डेंगुको विषयमा पनि सबै व्यक्ति समेत हुनुपर्ने देखिन्छ। त्यसैले आज हामी तपाईलाई डेंगु रोगको बारेमा केही जानकारी दिदैछौं।
के हो डेंगु रोग कसरी बच्ने ?
शुक्रराज अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार डेंगु रोग एडिस जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। डेंगु सार्ने लामखुट्टेले सफा पानी जम्मा भएको ठाउँमा फुल पार्छ। टायरमा जम्ने आकासेपानी, गमला, घर वरपरको खाल्डाखुल्डीमा जम्ने पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा विकास भइ लामखुट्टेको संख्या वृद्धि हुन्छ र मानिसलाई टोकेर डेंगुको संक्रमण गराउँछ।
डेंगुका लक्षणहरु
–ज्वरो आउने,
–आँखाको गेडीहरु दुख्ने,
– शरीरमा डाबरहरु आउने,
– खाना नरुच्ने,
–जोर्नी तथा मांसपेसीहरु दुख्ने,
– पेट गडबडी हुने,
डेंगुको लक्षण देखिएका बिरामीले जटिल अवस्थामा बाहेक सामान्य लक्षण देखिदा झोलिलो पदार्थ र सिटामोल खाएर १० दिन घरमै आराम गर्दा पनि निको हुने डा पुनले बताए। तर डेंगुको संक्रमण फैलिएको क्षेत्रमा डेंगुका लक्षण देखिएका बिरामीले भने अस्पतालमा पुगेर डेंगु परीक्षण गराउनुपर्ने हुन्छ।
डेंगु लागेका के गर्ने ?
–डेंगुको लक्षण देखिएमा जथाभावी औषधि तथा एन्टीबायोटिक नखाने,
–झोलिलो खानेकुरा खाने,
–झुलको प्रयोग गर्ने,
–लामो बाहुला भएको कपडा लगाउने,
–घर वरपरको वातावरणमा पानी जम्न नदिने,
– लामखुट्टेको लार्भा विकास हुने स्थानहरु खोजेर नष्ट गर्ने,
–घरायसी प्रयोजन वा पीउनका लागि ड्रम, गाग्री वा अन्य भाडामा राखिएको पानी राम्रोसँग छोपेर राख्ने।
























