काठमाडौं, चैत्र २ । कोभिड- १९ पाण्डामिकविरुद्ध साझा रणनीति तयार गर्नका आयोजित सार्क नेताहरुको भिडियो कन्फ्रेन्स सकिएको छ।
कन्फ्रेन्समा सहभागी नेताहरुले सार्क क्षेत्रको साझेदारीलाई बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
‘हाम्रो क्षेत्र कोभिड-१९ को उच्च जोखिममा छ। यो हाम्रो साझा चुनौती हो। हामीले यस विरुद्ध साझा ढंगबाट लड्न आवश्यक छ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले कन्फ्रेन्सका क्रममा भने, ‘क्षेत्रमा अनुभव साट्न सार्क क्षेत्रको साझा संयन्त्र बनाउनुपर्छ।’
प्रधानमन्त्री ओलीले सार्क इमर्जेन्सी मेडिकल सेन्टर आवश्यक रहेको बताए। उनले क्षेत्रीय संवादलाई अगाडि बढाउनुपर्ने उल्लेख गरे। त्यसैगरी प्रम ओलीले कोभिड १९ मात्र नभइ भविष्यमा आउने महामारीविरुद्ध साझा रणनीति बनाउनुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले यो संवादलाई अगाडि बढाउन आवश्यक रहेको बताए। उनले सदस्य देशहरुका महामारी नियन्त्रण गर्ने संयन्त्रहरुबीच नजिकको साझेदारी बनाउनुपर्ने धारणा राखे। ‘यो समय द्विपक्षीय साझेदारीलाई बढाउने बेला हो। जसले क्षेत्रीय साझेदारीलाई बढाउने छ,’ उनले भने।
श्रीलंकाका राष्ट्रपति गोतावया राजापाक्षेले भने, ‘कोभिड-१९ का लागि मात्र होइन भोलिका दिनमा पनि आउने साझा समस्याका लागि एक ठाउँमा उभिएर लड्न आवश्यक छ।’
बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नयाँ सुरुवात भएको र यसलाई यहीमात्र रोकिनु नहुने बताइन्।
‘यो सुरुवात यहीमात्र रोकिनु हुँदैन। यसलाई हामीले हाम्रा अधिकारीहरु माझ स्वास्थ्य कर्मीमाझको साझेदारीलाई बढाउनुपर्छ। कोभिड-१९ का लागि मात्र होइन अन्य रोगविरुद्ध लड्न पनि आवश्यक छ,’ उनले भनिन्, ‘हाम्रा विज्ञहरुलाई पनि एक ठाउँमा ल्याउनुपर्छ। हामीले एक ठाउँमा उभिएर काम गर्न आवश्यक छ। नयाँ महासचिवले यसलाई अगाडि बढाउनुहुने छ।’
भुटानका प्रधानमन्त्री लोत्या छिरिङले सुरु भएको सम्वादलाई अगाडि बढाउनुपर्ने बताए। ‘हामीले फेरि भेट गरौँ। हाम्रा स्वास्थ्य मन्त्रीहरुको फोरम बनाउँ। फेरि भेट गर्ने वातावरण बनाऔँ,’ उनले भने।
कन्फ्रेन्स कलमा सहभागी पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जापर मिर्जाले यो संवादलाई अगाडि बढाउनुपर्ने बताए। उनले सार्क सचिवालयलाई यसको जिम्मा दिनुपर्नेमा समेत जोड दिए।
सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले आगामी दिनमा पनि एक भएर काम गर्ने बताए। ‘यो स्पष्ट छ की हामी एक भएर काम गर्ने छौँ। आगामी दिनमा आउने समस्या विरुद्ध लड्न साझेदारी गर्ने छौँ,’ मोदीले भने।
उनले सदस्य राष्ट्रले एक एक जना विज्ञहरुलाई छनोट गरेर एक साताभित्र आइतवारको भिडियो कन्फ्रेन्सको फलोअप कन्फ्रेन्स आयोजना गर्ने प्रस्ताव राखे।

























