भक्तपुर, फागुन २८ । सरकारले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीलाई प्रतिबन्ध लगाएको आज एक वर्ष पूरा भएको छ। उच्छृङ्खल गतिविधिमा लागेको भन्दै वर्तमान ओली नेतृत्वको सरकारले लुकिछिपी विभिन्न खालका घटना गराउँदै आएका विप्लव माओवादीलाई २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध जारी राखेको हो। विप्लव नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाएपछि हालसम्म पनि उक्त समूहमा संलग्न विभिन्न तहका व्यक्तिहरूलाई पक्राउ गर्ने र छाड्ने क्रम जारी राखेको छ।
तर, सरकारले प्रतिबन्ध लगाए पनि विप्लव माओवादीले आफूले गर्दै आएको क्रियाकलाप रोकेको छैन। बुधबार बिहानै पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवासमा बम विस्फोट भभएको छ। उक्त विस्फोट पनि प्रतिबन्धित विप्लव नेतृत्वको माओवादीले नै गराएको प्रहरीको अनुमान छ। तर, यकीन भएको छैन। नेपालमा पछिल्लो समय विस्फोट, चन्दा आतंक, अपहरणजस्ता समाजको हित विपरितका घटना हुनासाथ विप्लव समूहले गरेको हुन सक्ने आशंका गर्ने गरेको छ।

बुधबार बिहान भक्तपुरमा गराइएको विस्फोटको प्रकृति हेर्दा पनि विप्लव समूहले नै विस्फोट गराएको हुन सक्ने आशंका गर्न प्रहरीलाई गाह्रो भएन। किनकि पूर्व मन्त्री बाँस्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन मागेको विषयमा विवादित बनेपछि पदबाट राजिनामा दिएका व्यक्ति हुन्।
बुधबार गराइएको विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ भने छिमेकीका घर र एउटा भ्यानमा पनि क्षति पुर्याएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आएको छैन। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोलीले अनुसन्धान जारी राखेको छ।
प्रहरीलाई पूर्व सूचना थियो ?
प्रतिबन्ध लगाएको वर्ष दिनमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा विप्लव समूहको टार्गेटमा छन् भन्ने सूचना प्रहरी अधिकारीले पाएका थिए। त्यसैले बन्दै गरेको घरको सुरक्षामा सशस्त्र प्रहरीका सईको कमाण्डमा दुई जना प्रहरीलाई सुरक्षाका लागि राखिएको थियो। तर, उनीहरुले विष्फोटक पदार्थ राखिएको सुइँकोसमेत पाएनन्।
जसका कारण बास्कोटाको घरमा बम विष्फोट भएको छ। पूर्वसूचना हुँदाहुँदै पनि बास्कोटाको घरको पूर्वतर्फको पर्खालको भित्रै बम राखेर विष्फोट गराइएको छ। यसले सुरक्षा संयन्त्रमा गम्भीर प्रश्न उब्जिएको छ। यद्यपि अहिलेको विष्फोट कसले गरायो भन्ने खुलिसकेको छैन। प्रहरी अधिकारीहरुले यस विष्फोटमा विप्लव समूहकै हात रहेको अनुमान गरेका छन्।

























