फागुन २८ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ। चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ।
कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन्। कोरोना संक्रमितको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेको छ।
कोरोना संक्रमितमध्ये ६६ हजार ६ सय १७ जना बिरामी ठीक भएर घर फर्किएका छन्। ठीक भएर घर फर्कनेको संख्या चीनमा बढी रहेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
अन्य देशमा तीव्र रुपमा कोरोना फैलिएपनि चीनमा भने नियन्त्रणको क्रममा रहेको छ। चीनमा अहिले ८० हजार ७ सय ७८ जना संक्रमित छन्। जहाँ ६१ हजार ४ सय ८१ जना ठीक भएर घर फर्किएका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
चीनमा कोरोनाका नयाँ बिरामी २४ जनामात्र फेला परेका छन्। कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउने चिनियाँको संख्या भने ३ हजार १ सय ५८ पुगेको छ।
त्यस्तै इटालीमा संक्रमित १० हजार १ सय ४९ जना छन्। नयाँ संक्रमितको संख्या ९ सय ७७ पुगेको छ। त्यस्तै इटालीमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ।
त्यस्तै इरानमा २ सय ९१, दक्षिण कोरियामा ६०, फ्रान्समा ३३, स्पेनमा ३६, अमेरिकामा ३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।






















