काठमाडौं, फागुन २६ । मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका बेला राजनीतिक क्षेत्रमा भने मन्त्रिपरिषद् पुनर्गठनको विषयले चर्चा पाइरहेको छ। प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको छ।
अस्पताल भर्ना हुनुअघि विकसित राजनीतिक घटनाक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली पार्टीको सचिवालयमा अल्पमतमा परेका देखिएको थियो ।
तर, उनले आफ्नो पक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई ल्याउन सफल भएकाले सोहीअनुसार मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको हो। मन्त्रिपरिषद्मा नेता नेपाल पक्षका नेतालाई सहभागी गराएर सन्तुलन मिलाउन थालेका प्रधानमन्त्री ओलीले भीम रावल, महेश बस्नेत र सोमप्रसाद पाण्डेलाई सरकारमा सहभागी गराउने स्रोतको दाबी छ।
साथै हालै सेक्युरिटी प्रेस खरिद प्रक्रियामा ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटालाई समेत सरकारमा सहभागी गराउने गरी पार्टीभित्र छलफल भइरहेको जनाइएको छ।
यसबारे प्रधानमन्त्री ओलीले आफूनिकटका नेताहरुसँग छलफल र परामर्श थालेका बताइएको छ। पूर्णरुपमा स्वास्थ्य लाभ गरेर काम फर्किएपछि सरकारलाई सशक्त बनाउने सोचमा रहेका प्रधानमन्त्री ओलीले नेता नेपाललाई आफ्नो पक्षमा ल्याएर पार्टीबाट फुत्किएको पकड फिर्ता ल्याउने तयारीमा छन्।

























