फागुन २६ । चीनको उहान शहरमा पहिलोपटक देखिएको कोभिड १९ भनिने कोरोना भाइरसका कारण अहिलेसम्म करिब चार हजार मानिसहरूको मृत्यु भइसकेको छ भने एकलाख भन्दा बढी मानिसहरूमा संक्रमण फैलिएको छ।
विश्वका ७० भन्दा बढी देशहरूमा कोरोना संक्रमण फैलिएपछि जनजीवन निकै प्रभावित बनिसकेको छ। अन्तरार्ष्ट्रिय मुद्रा कोष (आइएमएफ) अनुसार चालू आर्थिक बर्षको वृद्धिदर गत आर्थिक बर्षको न्यून विन्दुभन्दा पनि तल झरिसकेको छ।
जीवनको क्षतिपछि कोरोनाको सबैभन्दा ठूलो असर विश्वको पर्यटन र हवाई उद्योगमा परेको छ। अर्को मुलुकबाट कोरोना फैलने त्रासका कारण धेरै देशहरूले विभिन्न प्रकृतिका प्रवेशाज्ञा रद्द गरिसकेका छन्। रद्द नभएपनि मानिसहरूले कोरोनाबाट जोगिन र सजगता अपनाउन धमाधम यात्रा स्थगित गरिरहेका छन्।

विश्वका प्रमुख विमानस्थलहरू यतिखेर सुनसान छन्। सन् २०२० को वसन्त ऋृतुमा घुम्न निस्कने योजना बनाएकाहरू साविक स्थानमै रोकिएका छन्। पर्यटन उद्योगले ठूलो क्षति ब्यहोरेको छ भने विमान कम्पनीहरूले उस्तै नोक्सानी व्यहोरिरहेका छन्।

कोरोना संक्रमणकै जोखिमका बीच पनि छिटपुट हवाइ यात्रामा हिँडेकाहरूले लगभर रित्तो देखिने विमानभित्रका दृश्यहरू इन्टरनेट सामाजिक सञ्जालमा प्रविष्ट गरेका छन्।


























