काठमाडौं, फागुन २६ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को ग्रान्ड फिनालेको टिकट बिक्री खुला गरिएको छ। टिकट ई–सेवाबाट काट्न सकिने ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिए।
टिकट दर तीन हजार रुपैयाँ तोकिएको छ। जम्मा दुई सय टिकट मात्रै बिक्रीमा राखिएको छ। “कोरोना भाइरसको प्रभावका कारण च्यासलस्थित स्टुडियो मै ग्रान्ड फिनाले गर्नुपर्ने भएकाले टिकट थोरै मात्रै बिक्री गरिएको हो,” निर्देशक भण्डारीले भने। ग्रान्ड फिनाले चैत १ गते हुँदैछ।
ग्रान्ड फिनाले होटल सोल्टी वा आर्मी अफिसर क्लब मध्ये एकमा गर्ने तयारी गरिए पनि कोरोनाका कारण धेरै उपस्थित हुने कुनै पनि कार्यक्रम नगर्न सरकारले आग्रह गरेपछि च्यासलस्थित आफ्नै स्टुडियोमा स्टुडियो मै हुन लागेको हो।
ग्रान्ड फिनालेका प्रमुख अतिथि महजोडी र राजेश हमाल छन्।
ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त पुगेका छन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।
‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक छन्। सोको होस्ट रिमा विश्वकर्माले गर्दै आएकी छिन्।


























