काठमाडौ, फागुन २३ । चीनबाट सुरु भएको कोरोना भाइरस विश्वव्यापी बनेसँगै सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ। कोरोना भाइरसको सन्त्रास कम नभएसम्म श्रम स्वीकृति दिने काम हाललाई स्थगन गरिएको श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
दक्षिण कोरिया, चीन, इरान, जापान र इटालीको अनअराइभल भिसा समेत रोकेको सरकारले नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुकमा समेत कोरोनाको प्रभाव तीव्र गतिमा फैलिएपछि संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार पठाउन बन्द गरेको हो।
श्रमिक पठाउने विषयमा मंगलवार वैदेशिक रोजगार व्यवसायी संघ र मन्त्रालयबीच छलफल राखिएको थियो। वैदेशिक रोजगार व्यवसायी संघले नेपालमा अहिलेसम्म एकजनामा पनि कोरोना भाइरस भेटिएकोले रोजगारदाता मुलुकले नेपाली श्रमिकलाई रोक नलगाएसम्म नेपालले पनि श्रम स्वीकृतिमा रोक नलगाउन सरकारसँग माग गरेको छ। तर सरकारले कारोना भाइरसको सन्त्रास हटेपछि प्रदान गर्ने काम नियमित हुने जनाएको छ।
हालसम्मको तथ्यांकअनुसार चीनमा दुई हजार नौ सय ४५ मानिसको कोरोना भाइरसका कारण मृत्यु भएको छ। दक्षिण कोरियामा २८, इरानमा ७७, इटालीमा ५२, जापानमा छ, फ्रान्समा तीन, अमेरिकामा छ, हङकङमा दुई, थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सनफ्रान्सिस्को र फिलिपिन्समा एक/एकजनाको मृत्यु भएको छ।
कोरोनाबाट मृत्यु भएका मुलुकबाहेक अन्य गन्तव्य मुलुकले पनि सतर्कता अपनाउन थालेसँगै नेपालले पनि विभिन्न कार्ययोजना बनाएको हो। सरकारले अत्यावश्यक काममा बाहेक घुमफिर, अध्ययन, मनोरञ्जनको लागि विदेश नजान आग्रह गरेको थियो।


























