चितवन, फागुन २१ । वसन्त पराजुली चितवनका पुराना पत्रकारमध्येका एक हुन्। चितवन पोष्ट दैनिक, सिनर्जी एफएम जस्ता लोकप्रिय सञ्चारमाध्यममा काम गरेकाे अनुभव संगालीसकेका पराजुली हाल गोरखापत्रको चितवन संवाददाताको रूपमा कार्यरत छन्। उनी केही समयदेखि पत्रकारितासँगै होटल व्यवसायमा समेत सक्रिय छन्।
नवलपुरको गैँडाकोटस्थित दि नारायणी रिसोर्ट र होटल दि नारायणी जस्ता सुविधासम्पन्न होटल सञ्चालन गरिसकेको ‘नारायणी बिजनेस ग्रुप’का सदस्यसमेत रहेका पराजुलीको परिचय कथाकारको रूपमा समेत आउने भएको छ। सञ्चारमाध्यममार्फत समाचार सामाग्री पस्केर पाठकमाझ लोकप्रिय बन्दै आएका पराजुली पहिलो पटक कथा संग्रह ‘कुमाता’ लिएर कथाकारको रूपमा पाठकमाझ उभिँदैछन्।
पत्रपत्रिका र रेडियोमार्फत आफ्नो परिचय फराकिलो बनाएका नारायणगढवासी पराजुली कथाकारको रूपमा परिचित हुन सक्ने नसक्नेबारे भने हेर्न बाँकी नै छ। तर, आफूलाई कथाकारको रूपमा प्रस्तुत गर्न पहिलो पटक प्रकाशनमा ल्याउने तयारीमा रहेको ‘कुमाता’लाई आउँदो सोमबार विमोचनको तयारी गरेका छन्।
सामाजिक यर्थाथवादी विषयवस्तुका कथा समेटिएका ‘कुमाता’लाई अक्षर समूह चितवनले विमोचन गर्न लागेको हो। भुँडीपुराण प्रकाशन प्रालिले प्रकाशन गरेको कथासंग्रह द नारायणी रिसोर्टमा विमोचन गर्ने तयारी भइरहेको पराजुलीले बताए।
११२ पृष्ठ रहेको ‘कुमाता’ कथासङग्रहमा १० वटा कथा संग्रहित छन्। पत्रकारिता क्षेत्रको निखारता र अनुभवलाई कथा लेखनमा प्रयोग गरेकोले कथा संग्रह पाठकमाझ रूचिको विषय बन्न सक्ने अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डितले बताए।


























