काठमाडौं, फागुन २१ । नेपालले थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा पहिलो जित निकालेको छ।
बैंककमा बुधबार भएको तेस्रो खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो।
टेर्डथाई क्रिकेट मैदानमा थाइल्याण्डले दिएको ६७ रनको सामान्य लक्ष्य नेपालले ५ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो। सर्वाधिक कम बलमा विपक्षीले दिएको लक्ष्य पुरा गर्दै नेपालले कीर्तिमानी जित निकालेको हो। यस अघि नेपालले कुवेतविरुद्ध १५ ओभर ५ बलमा ७ विकेट गुमाएर जित निकालेको थियो।
नेपालको जितमा ओपनर कुशल मल्लले अविजित रहदै ३६ रन बनाए। यस्तै पवन सर्राफले अविजित २७ रन जोडे। ओपनर पारस खड्का भने ९ रनमा आउट भए।
थाइल्याण्डका नोप्पोन सेनामोन्त्रीले १ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो।
थाइल्याण्डका लागि हेन्नो जोर्डनले १३ रन जोडे। फिरियापोङ सुआनचुईले पनि अविजित १३ रन बनाए। यस्तै नाभिद पठानले ८ रन जोड्दा जिउल हकले ५ रन बनाए।
नेपालका करण केसीले ३ विकेट लिए। अविनाश बोहराले २ विकेट लिंदा भुवन कार्की र सन्दीप लामिछानेले १र१ विकेट लिए।
यस लक्ष्य टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले विपक्षीबाट पाएको सर्वाधिक कम लक्ष्य हो।
जितसँगै नेपालले ३ खेलमा २ अंक जोडेको छ। र, नेपालले शीर्ष दुईमा रहदै एसिया कप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ। तर, नेपालको एसिया कप छनोट आशा अन्य टिमको खेलमा भर पर्नु पर्नेछ।
बुधबार नै हुने खेलमा हङकङले सिंगापुरलाई हराएमा नेपालको सम्भावना कायम रहनेछ। सिंगापुरले जित निकालेमा नेपाल एक खेल अगाबै बाहिरिने छ।
नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ। यस अघि नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको थियो।
थाइल्याण्डको यो लगातार चौंथो हार हो। थाइल्याण्ड पुछारमा रहेको छ।


























