नवलपुर, फागुन १७ । देवचुली नगरपालिका वडा नम्बर २ मा रहेको पुनर्वास टोलको नाम परिवर्तन गरिएको छ। शनिवार ह्याप्पी गण्डकी एडभेञ्चर, वान संस्था, देवचुली जेसीज वर्ष–२०२० लगायत स्थानीय तह र संघ संस्थाको सहभागितामा टोलको नाम परिवर्तन गरेर “धान चरी गाउँ” राखिएको हो। गाउँको आर्थिक परिवर्तनसंगै स्थानीयको दैनिकिमा समेत परिवर्तन ल्याउन नाम परिवर्तन गरिएको धान चरी गाउँ अभियानका परियोजना प्रमुख सुवास बास्ताकोटीले जानकारी दिए। यो गाउँलाई अत्यन्तै पिछडिएको गाउँको रूपमा चिनिन्छ।
यससँगै पुरानो गाउँ र पुरानो संस्कारलाई परिवर्तन गरी अघि बढ्ने अभियानमा जुटेको उनले बताए। ‘हामी सानो कदमबाट अघि बढ्ने प्रयासमा छौँ,’ उनले भने, ‘आगामी दिनमा धानचरी गाउँमा विकासका धेरै योजना बनाउछौँ र सो योजनाअनुसार अघि बढ्छौँ।’ धान चरी गाउँमा आर्थिक विकासका स्रोत खोज्ने, गाउँका बालबालिकाको प्रतिभालाई बाहिर ल्याउने, कृषिका लागि विभिन्न योजना ल्याउने उनको भनाइ छ।
यहाँका माझी तथा मुसहर समुदायलाई निउँरो टिप्न जंगल जानुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँमै निउँरो खेती गर्नतर्फ अग्रसर गराइने उनले बताए। देवचुली नगरपालिकाका कार्यकारी प्रमुख विष्णुप्रसाद भुसालले नगरपालिकाभित्रका वस्ती विकास र प्रवर्द्धनमा लागेको भन्दै स्थानीय संघसंस्था तथा युवाहरुप्रति खसी व्यक्त गरे। धान चरी गाउँ कार्यक्रमका संयोजक दिपेश कडरियाले धान चरी गाउँ आफैँमा परिवर्तनको सम्वाहक रहेकोले यसलाई निरन्तरता दिने बताए।

यसमा ह्याप्पी गण्डकी एडभेञ्चरसहित ३९ वटा संस्थाहरूले सहकार्य गरेका छन्। ‘केही महिना अघि हामीले भिजिट देवचुली कार्यक्रम आयोजना गरेका थियौँ,’ उनले भने, ‘भिजिट देवचुलीसँगै आएको परिकल्पनालाई थप गरी धान चरी गाउँ कार्यक्रम सञ्चालन गरेका हौँ।’ धान चरी गाउँका हरेक गतिविधिलाई मुल्याङन गरी अरु नगरपालिकासँगै जिल्लाभरी नै कार्यक्रम सञ्चालन गर्ने अभियानमा रहेको उनले बताए।
विकासमा धेरै वर्ष अघि नै फड्को मार्ने सम्भावना भएर पनि यहाँका राजनितिक दल तथा विचौलीयाका कारण परिवर्तन आउन नसकेको उनको भनाइ छ। ह्याप्पी एफ एमका कार्यकारी निर्देशकसमेत रहेका कडरियाले यो कार्यक्रममा स्थानीय संघसंस्था, जनप्रतिनिधिलगायतको समेत सहकार्य रहेको बताए। देवचुली जेसीज वर्ष–२०२० का अध्यक्ष हरि पोख्रेलले यसको निरन्तारताका लागि काम गर्ने बताए। ‘यही कार्यक्रमबाटै हामीले गाउँमा आवश्यक शिक्षा र स्वास्थ्यसँगै जनचेतनामुलक कार्यक्रमलाई अगाडि बढाउँदै लैजान्छौँ,’ उनले भने।


























