काठमाडौं, फागुन १७ । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको पहिलो खेलमा नेपाललाई मलेसियाले जितका लागि १ सय ५५ रनको लक्ष्य दिएको छ।
थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो।
मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले।
यस्तै अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए । अमिनुदुन राम्लेले २९ रन जोडे।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। यससँगै सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका छन्। उनले टी-ट्वान्टीमा १ सय २ विकेट पुरा गरेका छन्।
यस्तै अविनाश बोहराले २ विकेट लिए।
आज मलेसियाविरुद्ध नेपाल जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ। उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ।
नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो। त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ।
मलेसिया पनि बलियो टिम हो। मलेसिया पनि नेपाललाई हराएर सुखद सुरुवात गर्न चाहन्छ। हालै हङकङविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा मलेसियाले क्लिन स्विप गरेको थियो। त्यसैले नेपाललाई मलेसियाले कडा चुनौती दिने अनुमान गरिएको छ।
प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्याण्ड, सिंगापुर र हङकङले प्रतिस्पर्धा गरिरहेका छन्। राउण्ड रोबिन आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।


























