फागुन १६ । चीनबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण अन्य देशहरुमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशकले संक्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन्।
चीनबाहेक अन्य देशमा पनि महामारीको रुपमा फैलिएको संक्रमणलाई महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले सबैभन्दा बढी चिन्ताको विषय रहेको बताए।
उनले महामारीको रुपमा देखा परेको भाइरस जुनसुकै बेला पनि आफ्नो देशमा फैलन सक्ने भन्दै सावधानी अपनाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन्।
उचित उपाय अपनाए त्यसको प्रकोप नियन्त्रण गर्न सकिने उनले बताए। पछिल्लो समय इरान, इटाली र दक्षिण कोरियामा तीव्र रुपमा फैलिइरहेको भाइरसका कारण मृतकको संख्या बढी रहेको समाचारमा जनाइएको छ।
चीन बाहेक हालसम्म ४४ देशमा कोरोना भाइरसको संक्रमण देखा परेको छ। भाइरसका कारण विश्वभर ८२ हजार भन्दा बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
कोरोनाका कारण चीनसहित विश्वभर दुई हजार आठ सय भन्दा बढीको मृत्यु भइसकेको छ। ११ वटा युरोयिन देशहरुमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएको छ।
यस्तै दक्षिण कोरियामा पनि एक हजार सात सय भन्दा बढी संक्रमतिहरु देखा परेको समाचारमा जनाइएको छ। एजेन्सी


























