काठमाडौं, फागुन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्। बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्षसमेत रहेका ओलीले कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए। आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई पनि उनले ‘पत्रुु’को संज्ञा दिए।
‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन,’ ओलीले भने, ‘आरोप पुष्टि छैन। काम नलाग्ने पत्रु उजुरीको के काम। त्यो भ्रष्ट उजुरी हो।’
‘आरोप सत्य हो होइन हेर्नु पर्यो। अनाडी मान्छेले रेकर्ड गरेको छ। त्यसमा डिल नै भएको छैन,’ उनले थपे। आफूले बाँस्कोटाको बचाउ नगरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धानपछि दोषी देखिए कारबाही हुने बताए। ‘सत्यता छ भने कारबाही हुन्छ, होइन भने फटाहालाई कारबाही हुन्छ,’ ओलीले भने, ‘मैले डिफेन्स गर्न खोज्या होइन, आन्दोलनलाई तुहाउन यस्तो काम भएको होला।’
उनले आफ्नो नियतमाथि प्रश्न नउठाउन पनि आग्रह गरे। ‘म धन कमाउन हिँडेको होइन, देश बनाउन हिँड्या हो। पैसा कमाउने भए व्यापार गर्थे,’ ओलीले भने। सरकार प्रचारमुखी भएको आरोप खण्डन गर्दै ओलीले भने, ‘यत्रो सफलता, उपलब्धि प्रचार नगर्ने पनि हुन्छ र !’
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो केही दिनअगाडि सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएपछि दुई अध्यक्षको निर्देशनपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए। बाँस्कोटाको सोही टेपको कार्यकर्ताबीच प्रधानमन्त्री ओलीले बचाउ गरेका हुन्।


























