चितवन, फागुन १३ । नेपाली काँग्रेस चितवनले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ। जिल्ला सभापति जीतनारायण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै तत्कालका लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए।
विभिन्न माग राख्दै फागुन ७ गते अनशनरत माडी नगरपालिका वडा नं.१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको जीवन रक्षा र माग पुरा गराउन दवाब दिने उद्देश्यले सोमबार काँग्रेस चितवनले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। सोही अनुरुप काँग्रेसले सोमबार भरतपुर चौबीसकोठीमा एकघण्टा चक्काजामसमेत गरेको थियो।
त्यसपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले वडाध्यक्षको मागको समर्थन गर्दै सम्बन्धित निकायमा सर्वपक्षिय डेलिगेसन जाने निर्णय गरेको थियो। यस निर्णयलाई स्वागत गर्दै काँग्रेसले तत्कालका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको काँग्रेस जिल्ला सभापति श्रेष्ठले जानकारी दिए। काँग्रेसले आन्दोलनका कार्यक्रम अन्र्तगत सोमबार एक विज्ञप्ती जारी गर्दै फागुन १५ गते चितवन बन्दको आह्वान गरेको थियो।


























