पाेखरा, फागुन १२ . प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एजेण्डा नपाएर जनतामा भ्रम छर्न कुखुराको चल्ला जस्तै दगुरिरहेको आरोप लगाएका छन्।
उनले सरकारले राम्रो काम गरिरहँदा प्रतिपक्षी कांग्रेस हतास मनस्थितिमा देखिएको दाबी गरे।
गण्डकी प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सोमवार कास्कीको पोखरामा सम्बोधन गर्दै ओलीले कांग्रेस एजेण्डा नपाएर छट्पटाइरहेको आरोप लगाएका हुन्।
‘एउटा चल्लाले फट्याङग्रा टिपेर दगुर्छ, त्यो देखेर अरु चल्ला पनि पछि दगुर्छन्, सरकारको विरोधीको ताल कुखुराको चल्ला जस्तै छ,’ ओलीले भने, ‘गैरविषयलाई विषय बनाउने प्रतिपक्षसँग एजेण्डा भएन। सरकारले संसदमा विधेयक पेश गर्छ, छलफल गर्ने बुँदा प्रतिपक्षसँग छैन, जनतामा भ्रम छर्न, सरकारलाई बद्नाम गर्न लाग्छ।’
उनले सरकार हौसिएर नभइ होसमा काम गरिरहेको बताए। ‘हामी असफल भए उग्रवामपन्थी र उग्रदक्षिणपन्थीले देश कब्जा गर्छन्,’ ओलीले भने।
कार्यक्रमलाई नेकपा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए।


























